यो कविता Bibash Dahal द्वारा #kavyaandolan को दौरान रचिएको हो र लेखकमा नै सर्वाधिकार सुरक्षित छ । यहाँ प्रस्तुत गरिएको लेख, भाषा शुद्दताको लागी मात्र परिमार्जन गरिएको हुनसक्छ । मुल लेख यहाँ बाट साभार गरिएको ।
फेरि तात्नेछ सडक, फेरि सल्किनेछ चेतना, फेरि बज्नेछ आन्दोलनको नयाँ बिगुल, फेरि उठ्नेछन् नयाँ पुराना आवाजहरू, फेरि हुनेछ क्रान्ति , फेरि हुनेछ विद्रोह , तर, यो आन्दोलन फरक हुनेछ, नितान्त फरक, ती पुराना आन्दोलनहरू भन्दा। आर्यघाटबाट जर्याकजुरुक उठ्नेछन्, पुराना आन्दोलनका सहिदहरू, र उठाउनेछन् आवाज , चर्को स्वरमा, पहिलेको भन्दा धेरै चर्को स्वरमा, तिम्रो कानले आवाज नसुनुन्जेल, तिम्रो मस्तिष्कले कुरा नबुझुन्जेल। यही सडकमा भेटिनेछन् मार्क्स , सडकमै लेख्नेछन् नयाँ दास क्यापिटल र कम्युनिस्ट घोषणापत्र, र फेरि, पढाउनेछन् तिमीलाई, कम्युनिज्मको बाह्रखरी , सुरु देखि अन्त्य सम्म; यही सडकमा आन्दोलनको नयाँ रणनिति बनाउदै हुनेछन, ग्वेभारा र क्यास्ट्रोहरू; भेटिनेछन् माओ, लेनिन र स्टालिनहरू यही सडकमा, आन्दोलनमा ऐक्यवद्धता जनाउदै । बिपि यही समाजमा , कसैलाई पढाइरहेका हुनेछन, समाजवादको सिद्धान्तहरू, त्रिशुलीबाट पौडँदै आउनेछन् मदन, र बुझाउनेछन् तिमीलाई ज.ब.ज को असली अर्थ, मनमोहन र पुष्पलालहरू आफ्नो आखा लाल गर्दै, हेर्नेछन् आफूले स्थापित गरेको पार्टी र व्यवस्था । त्यतिखेर गाह्रो हुनेछ तिमीलाई दबाउन, मरिसकेका लासहरूका आवाज , हुनेछ तिमीलाई रातभर ऐठन , जब , तिनले एकसाथ एकै आवाजमा भन्नेछन्, यो व्यवस्था यो दिन देख्नका लागि हैन।