Rabiraj Khadka

R&D Engineer w/ Masters in Psychology

नयाँ आन्दोलन

यो कविता Bibash Dahal द्वारा #kavyaandolan को दौरान रचिएको हो र लेखकमा नै सर्वाधिकार सुरक्षित छ । यहाँ प्रस्तुत गरिएको लेख, भाषा शुद्दताको लागी मात्र परिमार्जन गरिएको हुनसक्छ । मुल लेख यहाँ बाट साभार गरिएको ।

फेरि तात्नेछ सडक,
फेरि सल्किनेछ चेतना,
फेरि बज्नेछ आन्दोलनको नयाँ बिगुल,
फेरि उठ्नेछन् नयाँ पुराना आवाजहरू,
फेरि हुनेछ क्रान्ति ,
फेरि हुनेछ विद्रोह ,
तर,
यो आन्दोलन फरक हुनेछ,
नितान्त फरक,
ती पुराना आन्दोलनहरू भन्दा।

आर्यघाटबाट जर्‍याकजुरुक उठ्नेछन्,
पुराना आन्दोलनका सहिदहरू,
र उठाउनेछन् आवाज ,
चर्को स्वरमा,
पहिलेको भन्दा धेरै चर्को स्वरमा,
तिम्रो कानले आवाज नसुनुन्जेल,
तिम्रो मस्तिष्कले कुरा नबुझुन्जेल।

यही सडकमा भेटिनेछन् मार्क्स ,
सडकमै लेख्नेछन् नयाँ दास क्यापिटल र कम्युनिस्ट घोषणापत्र,
र फेरि,
पढाउनेछन् तिमीलाई,
कम्युनिज्मको बाह्रखरी ,
सुरु देखि अन्त्य सम्म;
यही सडकमा आन्दोलनको नयाँ रणनिति बनाउदै हुनेछन,
ग्वेभारा र क्यास्ट्रोहरू;
भेटिनेछन् माओ, लेनिन र स्टालिनहरू यही सडकमा,
आन्दोलनमा ऐक्यवद्धता जनाउदै ।

बिपि यही समाजमा ,
कसैलाई पढाइरहेका हुनेछन,
समाजवादको सिद्धान्तहरू,
त्रिशुलीबाट पौडँदै आउनेछन् मदन,
र बुझाउनेछन् तिमीलाई ज.ब.ज को असली अर्थ,
मनमोहन र पुष्पलालहरू आफ्नो आखा लाल गर्दै,
हेर्नेछन् आफूले स्थापित गरेको पार्टी र व्यवस्था ।

त्यतिखेर गाह्रो हुनेछ तिमीलाई दबाउन,
मरिसकेका लासहरूका आवाज ,
हुनेछ तिमीलाई रातभर ऐठन ,
जब ,
तिनले एकसाथ एकै आवाजमा भन्नेछन्,
यो व्यवस्था यो दिन देख्नका लागि हैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *.

*
*
You may use these <abbr title="HyperText Markup Language">HTML</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>